विश्व

रुसीले युक्रेनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु



एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार जेट इन्जिनयुक्त रुसी ड्रोनले भीडभाड रहेको रेलवे स्टेसनको प्लेटफर्मलाई निशाना बनाएको थियो । आक्रमणका बेला यात्रुहरू जापोरिजिया जाने तयारीमा रहेको रोकिराखिएको ट्रेनमा चढ्न प्रतीक्षा गरिरहेका थिए ।

विस्फोटबाट निस्किएका छर्राले ट्रेनमा समेत क्षति पुर्‍याएको छ । आक्रमणका बेला प्लेटफर्ममा ठूलो संख्यामा यात्रु रहेको बताइएको छ ।

रुसले युक्रेनको रेल सञ्जाललाई बारम्बार निशाना बनाउँदै आएको छ । उक्त सञ्जाल यात्रु आवागमनका साथै आवश्यक सामग्री तथा आपूर्ति ढुवानीका लागि पनि प्रयोग हुँदै आएको छ । न्युजयूएन