समाचार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध 



काठमाडौँ, १५ कार्तिक । बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ ।

यसैगरी ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेर आवागमन अवरुद्ध भएको छ ।

बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।