समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु



काठमाडौँ, ९ मंसिर । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

धनुषाको कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलका छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मङ्गलबार दिउँसो मृत्यु भएको छ । 

यसैगरी सिराहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा नम्बर नखुलेको स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मङ्गलबार साँझ मृत्यु भएको छ ।

त्यस्तै नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मङ्गलबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी एक जना पैदलयात्रीको सोही देबदह मेडिकल कलेज भलुही अस्पतालमा र मोटरसाइकल चालकको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ ।