Banner News

संविधान र विधिअनुसार सरकारले काम गर्छ, कसैको दवाबमा निर्णय गर्दैन : प्रम ओली



साउन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्ने बताउँदै जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय नहुने बताएका छन् ।

नेकपाको कार्यालय धुम्बाराहीमा कार्यकर्तासँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरु सरकारविरुद्ध एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर आफ्नो पार्टी वा सरकार पक्षका सांसदहरुले सरकारको प्रतिरक्षा नगरेको भन्दै पार्टी नेता कार्यकर्ताको आलोचना गरेका छन् । उनले भने ‘विपक्षिले उधुमसँग हल्ला मच्चाएका छन्, कुनै विषय पाएका छैनन् । भर्खर बनेको सरकारलाई पहिल्यै भत्किएका बाटाहरु देखाएर तमासा गर्छन् ।’

विकास र संमृद्धिको लागि सरकारलाई समय लाग्ने वताउँदै प्रम ओलीले भने ‘देशलाई समृद्धि र विकासको बाटोमा पुर्‍याइहाल्न २/४ महिनाको अवधिमा सकिँदैन, अलिकति समय लाग्छ । तर, ब्यापक विरोध र जो जहाँ छ त्यहीबाट आक्रमण भएको छ ।’ आफ्नो नेतृत्वको सरकारले सबैभन्दा जनपक्षीय र प्रगतिशील नीतिहरु बनाएको तर, त्यसको चर्चा र प्रतिरक्षा पार्टी पंक्त्तिबाटै नभएको भन्दै उनले आक्रोस पोखे ।

प्रधानमन्त्री ओलीले चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको बताए । प्रधानमन्त्री ओलीले भने ‘निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति,निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत ग-यो ।’