साउन १०, काठमाडौँ । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले भोलिदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । संघले पत्रकार सम्मेलन गरेर आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
मितिः २०७५/४/१०
विज्ञप्ति
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी. चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेको आज २७ औं दिन भई सक्दा समेत वार्तालाई केबल औपचारिकतामा मात्र सिमित गराईएको, उहाँको जीवन रक्षाका निम्ती बार्ताटोली जिम्मेवाररुपमा अगाडी नबढेकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । यो दिनसम्म आई पुग्दा संघले डा. के.सी.को जीवन रक्षाका लागि सम्माननीय प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, विभिन्न राजनीतिक दलका शिर्षस्थ नेताहरुसँग भेटघाट, देशभर १ घण्टाको कालोपट्टी बाँधी धर्ना कार्यक्रम तथा बसन्तपुर, त्रि.वि. शिक्षण अस्पताल र संघका शाखाहरुमा रिले अनसनका कार्यक्रमहरु निरन्तर संचालन गर्दै आएको यहाँहरुलाई विदितै छ ।
अहिले डा. के.सी.को जीवन अत्यन्त कठिन मोडमा पुगिसकेको छ, कुनै पनि बेला अप्रिय र दुःखदायी घटना हुनसक्ने परिस्थितिलाई गम्भिर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ नेपाल सरकार तथा डा. के.सी पक्षधर वार्ताटोलीलाई गम्भिर रुपमा प्रस्तुत भई जिम्मेवारी बोधकासाथ अगाडी बढ्न आग्रह गर्दछ । डा. के.सी.को स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै संवादका प्रत्येक पल अत्यन्तै महत्वपूर्ण र संवेदनशिल बनाउँदै घनिभूत वार्ता गरी उहाँको जीवन रक्षा गर्न यस संघ नेपाल सरकार र सम्बद्ध वार्तामा सम्मिलित व्यक्तिहरुमा हार्दिक अपिल गर्दछ ।
अन्यथा, डा. के.सी.को जीवन रक्षार्थ नेपाल चिकित्सक संघ बाध्यभई मिति २०७५ साउन ११ गते देखि आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा अनसन नतोडीउन्जेलसम्म बन्द गरिने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँदै सोको कार्यान्वयनका लागि संघका सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरिन्छ । यसले देशभर जटिल स्थितिको सिर्जना गर्ने भएको हुनाले अझैपनि यो निर्णय कार्यान्वयन गर्ने अवस्था नल्याउनका लागि नेपाल सरकारले नै थप जिम्मेवारी बोध गर्दै वार्तालाई निष्कर्षमा पु¥याउन यस संघ जोडदार माग गर्दछ । यस्तो कठिन परिस्थितिमा संघले गरेको निर्णयलाई विरामी र विरामीका आफन्तजनहरुले धैय धारण गरि डा. के.सी.को जीवन रक्षाका लागि सहयोग गरिदिनु हुन हार्दिक आग्रह गरिन्छ ।
साथै डा. गोविन्द के.सी आमरण अनसनमा बसेको बिषयलाई कतिपय चिकित्सकहरुले मिडिया तथा सामाजिक सञ्जालमा झुठ्ठा, कपोकल्पित र अस्वाभाविक टिकाटिप्पणी गरिएकोप्रति नेपाल चिकित्सक संघ गम्भिर चिन्ता व्यक्त गर्दै, सत्याग्रह जस्तो पवित्र माध्यमका सम्बन्धमा सबैलाई संवेदनशिल बन्न र डा. के.सी.को जीवन रक्षार्थ संघको अभियानमा सरिक हुन आग्रह गर्दछ । यस्तो संवेदनशिल बिषयलाई राजनीतिक दलहरुले पनि पार्टीकरण नगरी सत्याग्राहीको जीवन रक्षा गर्न र चिकित्साक्षेत्रको सुधारका खातिर ऐक्यबद्धता जनाउन यस संघ हार्दिक अपिल गर्दछ ।
डा. लोचन कार्की
महासचिव









प्रतिक्रिया दिनुहोस्