कास्की, ७ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले काम गरेर मात्र नभई इतिहासमा कि कुनै पनि सरकारले गर्न नसक्ने काम गरेर सञ्चार क्षेत्रलाई स्थायित्व प्रदान गरेको दावी गर्नुभएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा शुक्रबार पोखरामा आयोजित ‘श्रमजीवी पत्रकार ऐनः अवस्था र चुनौती’ विषयक परिचर्चा कार्यक्रममा उहाँले आर्थिकरुपमा सञ्चारमाध्यम बलियो बनाउनका लागि समानुपातिक विज्ञापन नीति ल्याइएको बताउनुभयो ।
सञ्चारमाध्यमलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि विज्ञापन ऐन, मिडिया काउन्सिल विधेयक, आमसञ्चार ऐन र सूचना प्रविधि ऐन अघि बढाइएको भन्दै मन्त्री बाँस्कोटाले सरकारका राम्रा कामलाई साथ र सहयोग दिन आग्रह गर्नुभयो । पत्रकारिता क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै उहाँले पत्रकारको हितका लागि स्थापित कोष रु पाँच करोडबाट रु आठ करोड पुर्याइएको जानकारी गराउनुभयो ।
प्रेस स्वतन्त्रताको विषय नेपाली इतिहासमा स्थापित भइसकेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले अबको आवश्यकता प्रेसको सम्वद्र्धन र प्रवद्र्धन रहेको बताउनुभयो । विश्व इन्टरनेटको क्रान्तिको युगमा पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसमा देखिएका चुनौतीलाई व्यवस्थित गर्न सूचना प्रविधि ऐन ल्याउन लागिएको र सो को माध्यमबाट आमसञ्चार नभई व्यक्तिगतरुपमा रहेको फेसबुक, ट्वीटर जस्ता मास मिडियालाई परिभाषित गर्न खोजिएको प्रष्ट पार्नुभयो ।
अनलाइन मिडियालाई पनि वर्गीकरण गरेर सुविधा उपलव्ध गराउने तयारी भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकारले काम गरेर होइन कि कुनै पनि सरकारले गर्न नसक्ने काम गरेर सञ्चार क्षेत्रलाई स्थायित्व प्रदान गरेको छ ।”










प्रतिक्रिया दिनुहोस्