Banner News

प्रदेश सरकारमाथि प्रश्न उठ्न थाल्यो : मन्त्री गुरुङ



काठमाडौँ, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरूको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताएका छन् ।

बिहीबार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुले शीर्ष नेताहरूलाई प्रदेशमा पठाउन नसक्दा प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसकेको तर्क गरे । मन्त्री गुरुङले प्रदेशका समस्याहरू बल्झिन थालेको बताए ।

उनले भने, ‘तपाईंहरूले भन्नुहुन्छ नि नेताहरूको संघीयता विरोधी मानसिकता भनेर, अलिकति त्यस्तो पनि हो । अहिले प्रदेशका समस्याहरू धेरै बल्झिए, संघीयतामाथि प्रश्न उठ्न थाले, प्रदेश सरकारमाथि प्रश्न उठ्न थाल्यो भनेर हामी अन्तर प्रदेश परिषद्लाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचमा छौं । यसमा तपाईहरूले पनि साथ दिनुपर्छ ।’

मन्त्री गुरुङले तीन तहको सरकारबीच समन्वय र सहकार्यको वातावरण बनाउन राष्ट्रिय समन्वय परिषद् समेत गठन गरिएको बताए ।