Banner News

बिमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छ : अध्यक्ष ढकाल



काठमाडौँ, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिनुपर्ने बताएका छन् ।

आज आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरू अझै परम्परागत नीतिबाट सञ्चालन भइरहेका उल्लेख गरे ।

उनले भने,”कतिपय हाम्रा नियमक निकायहरू नेपाल राष्ट्र बैंक, बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डले परम्परागत हिसाबले बनाइएको नीतिका कारण चलिरहेका छन् । सोही कारण बैंक तथा वित्तीय क्षेत्रले जुन हिसाबले आफ्नो व्यवसाय बढाउन सक्ने हो त्यो अनुसार भएको छैन ।, फाइनान्सियल रूपमा क्षमतावान हुँदाहुँदै पनि कतिपय पुराना नीतिका कारण जति व्यावसायिक गतिविधि बढाउन सकिन्थ्यो त्योअनुसार नसकेको अवस्था छ ।, हामी क्षमताको हिसाबले सक्षम छौँ भने नेपालमा मात्रै यसको दायर बनाउनपर्छ भन्ने छैन । अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्न दिनुपर्छ र त्यसको नियमन राम्रो गर्नुपर्छ ।, यसले नेपालको अर्थतन्त्रमा नै योगदान हुने भएकोले सोहीअनुसार कानुन बनाउनुपर्छ । बिमा कम्पनीहरूलाई नियामक निकायले हेर्ने एउटै दृष्टिकोण छ, त्यस्तो हुनु हुँदैन । चाहे बिमा प्रवर्द्धकका सञ्चालन अवथा बैंक तथा वित्तीय संस्थाका सञ्चालन भनौँ, यिनीहरू सबैले नाफा मात्रै खान खोज्छन्, यिनीहरूमा गलत मनसाय छ भन्ने देखिन्छ, त्यो कदापि होइन । कुनै एक जना व्यक्तिले बदमासी गर्‍यो भने त्यो एक व्यक्तिले गरेको व्यक्तिगत बदमासीलाई सही हिसाबले बढाउन लागेको व्यावसायिक संस्था वा उनीहरूले बढाउन लागेको गतिविधि छ, त्यसमा पनि लगेर जोडिदिने चलन छ । त्यो गलत छ । नेपालभन्दा बाहिर व्यवसायिक गतिविधि बढाउनको लागि पनि नीतिहरू परिवर्तन गरेर बिमा कम्पनीहरूलाई विदेशमा गतिविधि बढाउने वातावरण तयार पार्न आवश्यक छ ।”