काठमाडौँ, ३० फागुन । खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।
ग्याँस हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्याँस पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।
प्रशासन विभागका प्रमुख महेश काफ्ले भन्छन्– ‘ग्याँस छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गनेछौँ । नेपाल आयल निगमले ग्याँसको मूल्य प्रति सिलिन्डर १ हजार ९१० रुपियाँ तोकेको छ । यही मूल्यमा खरिद बिक्री गर्न व्यवसायी र उपभोक्ताहरूमा हाम्रो अनुरोध छ ।’
पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएका छौँ । यसमा पनि हामीले निगरानी थालेको उनको भनाइ छ । ग्याँस र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरू ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्