अर्थ

ढुक्क भएर नेपालमा लगानी गर्न एनआरएनलाई अध्यक्ष ढकालको आग्रह



काठमाडौँ, ३० फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।

विश्वभर भइरहेका द्वन्द्व र कोभिड–१९ जस्ता महामारीको उदाहरण दिँदै उनले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने बताए । विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा सही ठाउँमा लगानी नहुँदा समस्या आएको गुनासो सुनिए पनि ती केवल ‘अपवाद’ मात्र भएको उनले स्पष्ट पारे ।

नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ सँग महासंघले सहकार्य गरेर एउटा प्रोजेक्ट अगाडि बढाइसकेको जानकारी दिँदै उहाँले संस्थागत लगानीमा जोड दिए । मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको ढकालको भनाइ छ ।

उनले भने, ‘अहिलेको विश्व परिवेश हेर्दा, चाहे मध्यपूर्वको द्वन्द्व होस् या कोभिडको समय, अन्तिममा फर्किने ठाउँ भनेको आफ्नै जन्मभूमि हो । म आफैँ एक उद्यमी र निजी क्षेत्रको छाता संगठनको अध्यक्षको हैसियतले भन्छु,’ ‘नेपालमा जुनसुकै व्यावसायिक क्षेत्रमा लगानी गरे पनि जति सम्भावना र अवसर यहाँ छ, सायदै अन्यत्र कतै होला ।’