समाचार

बाजुरामा एक युवकको हत्या



काठमाडौँ, ३ चैत । बाजुरामा एक युवकको हत्या भएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको हो ।

उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ । स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गरी सर्वाशको हत्या गरेका हुन् ।

बुढाको घटनास्थलमै मृत्यु भएको र घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोली घटनास्थल पुगेर धनबहादुरलाई नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।