काठमाडौँ, ८ चैत । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको ।
यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो ।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।
३३ वर्षीय राजन चिदीलाई भने थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उनको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्