समाचार

ठगी गरेको आरोपमा ५ जना पक्राउ



काठमाडौँ, ८ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौँ महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, डिल्लीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रूपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ,  आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।

आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमा र संगितालाई काठमाडौँ महानगरपालिका–१२ बाट तथा आशिषलाई काठमाडौँ महानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको हो । साथै अर्जुनलाई काठमाडौँ महानगरपालिका–४ बाट र डिल्लीलाई काठमाडौँ महानगरपालिका–९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।