काठमाडौँ, ९ चैत । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको परामर्शदाता छनोटमा अनियमितता अभियोगमा पूर्वसचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशक सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विमानस्थल निर्माणको लागत निर्धारण र ठेक्का सम्झौतामा भएको भ्रष्टाचार प्रकरणसम्बन्धी मुद्दा विशेष अदालतमै विचाराधीन अवस्थामा रहेकै बेला आयोजनाको परामर्शदाता छनोटमा पनि भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव र तीन पूर्वमहानिर्देशकसहितलाई प्रतिवादी बनाएर दोस्रो मुद्दा दायर गरेको हो ।
परामर्शदाता छनोटमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव अधिकारी, तत्कालीन महानिर्देशकद्वय गौतम र पोखरेल तथा आयोजनाका तत्कालीन प्रमुख एवं निर्देशक तथा पछि महानिर्देशक बनेका अधिकारी र चिनियाँ ठेकेदार कम्पनी सीएएमसीका प्रमुख वाङ बोसहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूविरुद्ध ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, हिनामिना भएको रकम आरोपितबाट असुलउपर र कैद सजायको मागदाबी लिइएको छ । अख्तियारले यसअघि विमानस्थल निर्माणको लागत बढाएर गुरुयोजना निर्माण गरी चिनियाँ कम्पनीलाई सुम्पिएको अभियोग लगाउँदै २१ मंसिर २०८२ मा ५ पूर्वमन्त्री, ९ पूर्वसचिव र सर्वोच्च अदालतका पूर्वरजिस्ट्रारसहित ५६ विरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो मागदाबीसहित विशेषमै मुद्दा दायर गरेको थियो ।
पहिलो मुद्दा दायर भएको साढे तीन महिनापछि अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाकै परामर्शदाता छनोट प्रकरणमा पर्यटन मन्त्रालयका तत्कालीन सचिव र तीन पूर्वमहानिर्देशकसहितलाई प्रतिवादी बनाएर दोस्रो मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार तत्कालीन सचिव अधिकारी, तीन पूर्वमहानिर्देशक गौतम, पोखरेल र अधिकारी (तत्कालीन आयोजना प्रमुख एवं निर्देशकका रूपमा प्रतिवादी), तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, तत्कालीन निर्देशक ध्रुवदास भोछिभया (निधन भइसकेकाले बिगोको हकमा उनकी श्रीमती यमुनादेवी श्रेष्ठ), तत्कालीन आयोजना प्रमुख बाबुराम पौडेल, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, तत्कालीन लेखा अधिकृत एवं उपप्रबन्धक प्रमोद नेपाल, तत्कालीन वरिष्ठ लेखा अधिकृत तथा उपप्रबन्धक सविन फुयाल, आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योति श्रेष्ठ, आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरीलाई प्रतिवादी बनाइएको छ । यसैगरी आयोजनाको परामर्शदाता कम्पनी ईआरएमसी र यसका प्रतिनिधि यमबहादुर भण्डारी, उद्धवराज चौलागाईं, सोमेन्द्रराज जोशी र प्रमोद दवाडी, निर्माण कम्पनी सीएएमसीका प्रमुख वाङ बो र कम्पनीका प्रोजेक्ट म्यानेजर याङ झियाङलाई पनि मतियारका रूपमा प्रतिवादी बनाएर सजाय मागदाबी लिइएको छ ।
अख्तियारले तत्कालीन सचिव अधिकारी, तत्कालीन महानिर्देशक पोखरेल र अधिकारी, तत्कालीन उपनिर्देशक न्यौपाने, तत्कालीन आयोजना प्रमुख मुनकर्मी, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठलाई जनही बिगोबमोजिम जरिवाना, हिनामिना भएको रकम असुलउपर र कैद सजाय मागदाबी गरिएको छ । आयोजनाका तत्कालीन अधिकृत चौधरी, परामर्शदाता कम्पनीका चार जनालाई एकमुष्ट तथा सीएएमसीका प्रमुख र प्रोजेक्ट म्यानेजरलाई पनि सामूहिक बिगो कायम गरी जरिवाना र कैद सजाय हुनुपर्ने मागदाबी लिइएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । बाँकी अन्यलाई भूमिका र जिम्मेवारीका आधारमा फरक–फरक बिगो रकम मागदाबी गरिएको छ ।
आयोजनाको लागत अनुमान तथा लागत अनुमानलाई कानुनविपरीत बढाई गरिएको सम्झौताविपरीत परामर्शदाता खर्चका लागि प्राधिकरणले थप बजेट छुट्याएर प्रथम दृष्टिमै दुराशय, गैरकानुनी लाभ र मिलेमतो तथा साँठगाँठका योजनासाथ बदनियतपूर्ण तरिकाले प्राधिकरणको सम्पत्ति दुरुपयोग गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
आयोजनाका लागि ठेक्का सम्झौतामै परामर्श खर्चबापत २८ लाख अमेरिकी डलर छुट्याइएकामा मिलेमतोमा बढाएर ४७ लाख ४२ हजार २ सय ८२ डलर पुर्याएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्