समाचार

लाखौँ मूल्य बराबरको सुनचाँदी र नगद चोरी गर्ने पक्राउ



काठमाडौँ, ९ चैत । काठमाडौँ महानगरपालिका-५ कालोपुलस्थित लामा गल्लीमा एक व्यक्तिको डेरा कोठा फोरेर लाखौँ मूल्य बराबरको सुनचाँदी र नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले चोरीमा संलग्न उनीहरूलाई चोरी गरिएका गहना, नगद र प्रयोग गरिएका धारिलो हतियारसहित नियन्त्रणमा लिएको हो । गत चैत ६ गते काठको दराजभित्र राखिएको करिब २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदी र करिब ६१ हजार नगद (नेपाली र भारतीयसहित) चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।

सूचना प्राप्त हुनासाथ सक्रिय भएको प्रहरी टोलीले अनुसन्धानका क्रममा चैत ७ गते राति करिब पौने १० बजे दुई युवकलाई पक्राउ गर्न सफल भयो । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगाका २६ वर्षीय निरज सापकोटा रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट तीन थान तिलहरी, एक थान सिक्री, एक थान नेक्लेस, तीन थान बाला र नौगेडीमा प्रयोग हुने ८ थान गोटी लगायतका सुन जस्ता देखिने पहेँलो धातुका गरगहना बरामद गरेको छ । यसैगरी चाँदीका पाउजु, थाली र औँठीहरू पनि बरामद भएका छन् । पक्राउ परेकाहरूको साथबाट २ लाख ४९ हजार नेपाली रुपैयाँ नगद र चोरी गर्दा प्रयोग गरिएको होण्डा कम्पनीको स्कुटर समेत नियन्त्रणमा लिइएको छ ।

बरामद सामानहरूको सूचीमा चोरी गर्दा वा प्रतिवाद गर्दा प्रयोग हुन सक्ने घातक हतियारहरू समेत फेला परेका छन् । प्रहरीले उनीहरूको साथबाट २.८ फिट लामो तरबार, एक थान खुकुरी र दुई थान फलामको रड बरामद गरेको हो ।  पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर चोरी मुद्दामा थप कानुनी प्रक्रिया र अनुसन्धान