अर्थ

बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौँ, ११ चैत । बैंकिङ प्रणालीमा रकम थुुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । 

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । 

निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आइतबार (चैत ११) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । 

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने यही आगामी वैशाख २ गते हुने बताइएको छ । 

साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।