अर्थ

अध्यक्ष ढकालद्वारा सरकारले जारी गरेको १०० बुँदे कार्यसूचीको स्वागत



काठमाडौँ, १५ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची र निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीतिको स्वागत गरेका छन् । 

सरकारको कदमले निजी क्षेत्रलाई उत्साहित बनाएको भन्दै उनले यसको सफल कार्यान्वयनका लागि सशक्त सहकार्य आवश्यक रहेको बताएका हुन् । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत १०० बुँदे कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउने अध्यक्ष ढकालले बताए । 

विशेषगरी सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण र उद्यमशीलता विकासजस्ता विषयहरू कार्यसूचीमा समेटिनु निकै सकारात्मक रहेको उनको भनाइ छ ।

महासङ्घले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरू यसमा समावेश भएको भन्दै उनले थप उत्साह व्यक्त गरेका छन् । उनले भने, ‘हामी यस सुधार एजेन्डालाई स्वागत गर्दछौँ । यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्ने विश्वास लिएका छौँ,’ ।