काठमाडौँ, १६ चैत । कास्कीको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित स्पा तथा ब्युटी पार्लरहरूले मापदण्ड विपरीत बालबालिकालाई काममा लगाएको पाइएपछि प्रहरीले ठुलो कारबाही सुरु गरेको छ ।
उमेर नपुगेका बालिकाहरूलाई कामदारका रूपमा राखेर अवाञ्छित क्रियाकलापमा प्रयोग गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।
लेकसाइडका विभिन्न स्थानमा रहेका स्पाहरूमा छापा मार्दा प्रहरीले ८ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा उदयपुरका होम बहादुर बुढाथोकी, पोखराका जेनिसा श्रेष्ठ सुनार, चितवनकी सर्मिला परियार र स्याङ्जाका सुरेश वि.क. रहेका छन्। त्यसैगरी गोरखाका जिवन श्रेष्ठ, रुपन्देहीकी अप्रिना खातुन, मकवानपुरका राजु थापा मगर र पोखराकै सरोज सुनारलाई पनि प्रहरीले हिरासतमा लिएको छ ।
प्रहरीले ती स्पाहरूबाट उद्धार गरिएका नाबालिग कामदारहरूलाई संरक्षणका लागि शक्ति समूहमा पठाएको छ भने उमेर पुगेका अन्य कामदारहरूलाई आफन्तको जिम्मा लगाएको छ । पक्राउ परेका सञ्चालकहरू विरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्