काठमाडौँ, २० चैत । सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज काठमाडौँबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौँतर्फ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
माइक्रो बस चालक गजबहादुर मगरको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।
त्यस्तै, काभ्रे मण्डनदेउपुर–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारीलाई पनि टाउकोमा चोट लागेपछि उपचारका लागि धुलिखेल पठाइएको छ ।
ठेगाना नखुलेका प्रशान्त केसीको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ । अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ । उनीहरूमा अधिकांशलाई सामान्यदेखि मध्यम खालका चोट लागेको चिकित्सकहरूले बताएका छन् ।
प्रहरीका अनुसार झापाका संस्कृति यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल लगायत घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्