समाचार

नक्कली फेसबुक आईडीबाट अश्लील सामग्री फैलाउने पक्राउ



काठमाडौँ, २१ चैत । सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो तयार पार्ने, ती सामग्री इन्टरनेटमार्फत पीडित महिलाका आफन्तहरूलाई पठाउने तथा गालीगलौज र धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरिएको हो ।

पुतलीबजार नगरपालिका–८ निवासी ठकुरीलाई चैत १९ गते पुतलीबजार–१ स्थित शहीदचोकबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेको छ । घटनासम्बन्धी विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।