Banner News

नेप्सेम्याकद्वारा अरनिको राजमार्ग सरसफाई



भक्तपुर, २१ चैत । भक्तपुरवासीको हातेमालो र सहकार्यसँगै नेप्सेम्याक सेवा प्रालिले भक्तपुरका सहर, सडक, खोला तथा वातावरण प्रदुषणका विरुद्ध निरन्तर अभियान चलाई रहेको छ । यसै क्रममा आज मध्यपुर थिमी नगरपालिका वडा नं. ४ स्थित राधेराधेबाट थिमी चोकसम्मको अरनिको राजमार्ग सरसफाई गरेको छ ।

‘नेप्सेम्याकको पहलः फोहोर विरुद्धको अभियान, भक्तपुरलाई नयाँ जीवन’ भन्ने नाराका साथ आफ्नो कार्यालयमा करिव ३० जनाकोे उपस्थितीमा राजमार्ग सफाई गरेको हो । नेप्सेम्याकले नियमित सरसफाईका साथ साथै चाडपर्व विशेष छुट्टै सरसफाई समेत गर्ने गरेको छ । जसमा आउनै लागेको विस्का जात्रालाई मध्यनजर गर्दै आज सफाई गरिएको प्रवन्धक बाबुराम चौलागाईले बताउनुभयो । आज करिव दुई टन फोहोर संकलन गरिएको छ ।

‘भक्तपुर धार्मिक तथा पर्यटकीय दृष्टिकोले नेपालको मात्र नभई विश्वकै एक नमुना जिल्ला हो ।’, उहाँले भन्नुभयो, ‘यहाँको प्रचलित विस्का जात्राको अवसरमा स्वदेश तथा विदेशका असंख्य पर्यटकहरु आउने भएकाले जिल्लाको मान, प्रतिष्ठा र देशकै इज्जतको लागि पनि हामी जस्ता संस्थाले आम नागरिकसँगको सहकार्यमा यस प्रकारका सफाई अभियानहरु नियमित रुपमा सञ्चालन गर्ने गरेका छौं ।’

“फोहोर सडकमा होइन, सोचमा हुन्छ—सोच सफा भयो भने सहर आफैं चम्किन्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै आज फालिएको प्लास्टिक, भोलिको पीढीको श्राप हुने भएकाले फोहोर फाल्ने बानी, सभ्यता फाल्ने बानीको विकास गर्नुपर्नेमा जोड दिइएको छ । सफा सहर सरकारको होइन, नागरिकको चरित्रले बनाउने स्मरण गराउँदै नेप्सेम्याकले फोहोर व्यवस्थापन नजाने समाज, भविष्य व्यवस्थापन गर्न नसकिने उल्लेख गरेको छ ।

“डस्टबिन खोज्न गाह्रो लाग्छ भने विकासको कुरा गर्नु हास्यास्पद हो । जहाँ फोहोर थुप्रिन्छ, त्यहीँ रोग जन्मिन्छ—रोगभन्दा ठूलो खर्च केही हुँदैन । हामीले फाल्ने फोहोर हराउँदैन, रूप बदलेर फेरि हामीमै फर्किन्छ । सफा वातावरण विलासिता होइन, आधारभूत अधिकार हो । फोहोर छुट्याउने बानी, सभ्यताको पहिलो पाइला हो ।” भन्ने सचेतना अपरिहार्यता रहेको छ । जसको नेतृत्व नेप्सेम्याकले करिव २५ वर्ष अघिदेखी काठमाडौँ उपत्यकाको फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्ने अभियानको नेतृत्व गर्दै आइरहेको छ । उपत्यकाबाहेक काभ्रेमा समेत संस्थाले नियमित फोहोर संकलन गरिरहेको छ । यसबाट प्राङ्गारिक मल उत्पादन गरी कृषि क्षेत्रको विकास र विस्तारलाई समेत विशेष सहयोग गरिरहेको छ ।