समाचार

सार्वजनिक बसमा पकेटमारी गर्ने एकजना पक्राउ



काठमाडौँ, २३ चैत । सार्वजनिक सवारी साधनभित्र यात्रुको भीडभाडको फाइदा उठाउँदै पकेटमारी गर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

आइतबार साँझ करिब पौने ७ बजेको समयमा गुडिरहेको भाडा बसभित्र यात्रुको खल्ती काट्दै गर्दा ती पकेटमार पक्राउ परेका हुन् ।

ललितपुरको इमाडोल क्षेत्रमा गुडिरहेको बसमा यात्रुहरू कोचिएको मौका छोपेर शंकास्पद गतिविधि गरिरहेका ती व्यक्तिलाई ट्राफिक प्रहरी प्रभाग इमाडोलमा कार्यरत प्रहरी जवान अमर सिंह पुजाराले फेला पारेका थिए । ड्युटीकै क्रममा रहेका पुजाराले ती व्यक्तिको हाउभाउ र गतिविधिमा शंका लागेपछि तत्कालै पिछा गरेर नियन्त्रणमा लिन सफल भएका हुन् ।

सार्वजनिक सवारीमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती दिने र धनमाल चोरी गर्ने ती व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी प्रभाग इमाडोलमा बुझाइएको छ ।