अर्थ

१ खर्ब २५ अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक



काठमाडौँ, २७ चैत । नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब २५ अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ ।

अधिक तरलतालाई कम गर्न राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । तत्काल कर्जा प्रवाह वृद्धि नहुने आँकलन गर्दै निक्षेप वृद्धिमा रुचि नदेखाएका बैंकहरूले ब्याजदर घटाउँदै मुद्दती निक्षेपलाई निरुत्साहित गरिरहेका छन् ।

अहिले कुल निक्षेप ७८ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । 

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।