समाचार

आजको मौसम



काठमाडौँ, २ बैशाख । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना बढेको हो । अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ ।

तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । 

आज दिनभर कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्ने देखिन्छ । बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ । तराईमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ ।

आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भाग र अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ ।