Banner News

आजको मौसम



काठमाडौँ, २४ जेठ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना छ ।

त्यस्तै आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।