काठमाडौँ, २६ जेठ । चालु आर्थिक वर्ष वैशाखसम्म विदेशी विनियमय सञ्चिति हालसम्मकै धेरै भएको छ ।
यस अवधिसम्म मुलुकको विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको हो । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको हो ।
चालु आव हालसम्म रेमिट्यान्स आप्रवाह निरन्तर सुधार आएका कारण विदेशी विनिमय सञ्चिति बढेको हो । साथै, आर्थिक सुस्तताका कारण आयातमा अपेक्षित सुधार नहुँदा विदेशी सञ्चिति हालसम्मकै उच्च पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ वैशाख मसान्तमा २४ प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ वैशाख मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई ३२ खर्ब ९८ अर्ब ३८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ वैशाख मसान्तमा ५४.४ प्रतिशतले वद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड कायम भएको छ । २०८३ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत छ ।
२०८३ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: ६०.७ प्रतिशत, १५९.७ र ४३.३ प्रतिशत छ । २०८२ असार मसान्तमा उक्त अनुपात क्रमश: ४३.८ प्रतिशत, १२८.१ र ३४.१ प्रतिशत थिए ।










प्रतिक्रिया दिनुहोस्