समाचार

म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते



काठमाडौँ, २ असार । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा म्याजिक र स्कार्पियो एक-आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो मंगलबार एक-आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका छन् । म्याजिकमा सवार घाइते हुनेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिसा आले र उनका २० महिनाका छोरा पिन्स आले रहेका छन् । यस्तै, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सिता दानी, इच्छाकामना गाउँपालिका–६ की २४ वर्षीया रचना गुरुङ र सोही ठाउँका ५३ वर्षीय कान्छा दागि पनि घाइते भएका छन्।
त्यसैगरी, स्कार्पियोमा सवार सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ४५ वर्षीया कविता अग्रवाल र उनका ५३ वर्षीय श्रीमान शषि भसाल अग्रवाल घाइते भएका छन्। घाइते सबैजनाको हाल नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ का ३९ वर्षीय अशोक परियार र स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–२ का ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।