काठमाडौँ, ५ असार । कृषि, वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
बिहीबार आयोजित कार्यक्रममा मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौताअनुसार दक्षिण कोरिया सरकारले कोइकामार्फत सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने छ वर्षे परियोजनाका लागि रु एक अर्ब ८१ करोड (एक करोड २० लाख अमेरिकी डलर) बराबर रकम उपलब्ध गराउने छ ।
यो परियोजना लुम्बिनी प्रदेशका चार जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिने जनाइएको छ । आयोजनाले जलवायुमैत्री कृषि प्रविधि, सुदृढ धानको बीउ प्रणाली, सुधारिएको बाली कटानीपछिको व्यवस्थापन र कृषक तथा उद्यमीका लागि बजार पहुँच विस्तारमार्फत धानको उत्पादकत्व वृद्धि गरी नेपालको खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ ।










प्रतिक्रिया दिनुहोस्