काठमाडौँ, ५ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका केही भूभागमा आज वर्षा हुँदा केही स्थानमा अधिकतम तापक्रम उच्च मापन हुनेछ । केही स्थानमा आज तातो दिन हुने पूर्वानुमान छ । केही भूभागमा भने मध्यमसम्म वर्षा हुनेछ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो हावाको लहर चल्नेछ । वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । विभागले कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग तथा कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । अन्य हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्