समाचार

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द



काठमाडौँ, १७ असार । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ ।

निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उनका अनुसार वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरेको हो ।

निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षात्को अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ ।