Banner News

एमाले सुदृढ संगठन हो, एकीकरण आवश्यक छैन : अध्यक्ष ओली



काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देश प्रतिगामी, फासीवादी बाटोमा जान नसक्ने बताएका छन् । अध्यक्ष ओलीले फासीवादी प्रवृत्तिविरुद्ध मिल्न सकिने सबै शक्तिसँग कार्यगत एकता गर्नुपर्नेमा जोड दिए ।

एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । आफू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरेको दाबी गर्दै उनले कुनै नराम्रो काम गरेर एमाले जनतामा अलोकप्रिय भएको नभई भ्रमबाट जनता अलमलिएको जिकिर गरे ।

उनले भने, ‘यतिवेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ? नेकपा एमाले देशव्यापी रूपमा फैलिएको, सुदृढ संगठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नु छ, एकीकरण गर्नु आवश्यक छैन  । हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ, हामी उठ्न सक्छौँ । हामीले केही बिगारेका छैनौँ, त्याग, तपस्या गरेका छौँ, लोभपाप गरेका छैनौँ, हीनताबोध गर्नुपर्ने छैन, भविष्य हाम्रै हो ।’