काठमाडौँ, १९ कार्तिक । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन विभिन्न निर्देशन जारी गर्दै देउसी–भैलो खेल्ने समय राति ९ बजेसम्म तोकेको हो ।
बिहीबार जारी सूचनामा पटका, भुइँचम्पा र आतिशबाजीजस्ता प्रज्वलनशील पदार्थको ओसारपसार, भण्डारण, बिक्री तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यस्तै, प्लास्टिकका फूल तथा मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न प्रशासनले सचेत गराएको छ ।
प्रशासनले जुवातास, सट्टेबाजी र लंगुरबुर्जा नखेल्न तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला र झैझगडा नगर्न पनि निर्देशन दिएको छ । त्यस्तै, अखाद्य तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि नगर्न र सवारीसाधनमा तोकिएभन्दा बढी भाडा नलिन तथा क्षमताभन्दा बढी यात्रु नबोक्न प्रशासनले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्