कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच क्षमा पूजाअर्चना गर्नुभएको हो।
यसका साथसाथै, केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माण हुने भौतिक संरचनाहरु पनि द्रूत गतिमा निर्माण भइरहेको कम्पनीले जनाएको छ । आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन सो केबलकार परियोजनालाई आगामी दुई महिनाभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेकाले निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी गरेको छ।
विभिन्न चरणमा गरी कुल लगानी करिब ६ अर्ब रुपैयाँ अनुमान गरिएको यस परियोजनाको पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। यसलगत्तै मुख्य प्राविधिक प्रक्रिया अन्तर्गत तार तान्ने र गोण्डोलाहरू जडान गर्ने कार्य अघि बढ्नेछ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानी देखि मोहन्याल गाउँपालिका–७ राजकाँडा सम्म ३.१ किलोमिटर लामो केबलकार परियोजनाको तल्लो (बटम) स्टेसनमा पाँचतारे होटल, क्यासिनो र ब्यांक्वेट हललगायत अन्य संरचनाहरु निर्माण भइरहेका छन् भने माथिल्लो (टप) स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल (पदमार्ग), रेष्टुरेन्ट तथा बाल उद्यानलगायतका पर्यटकीय पूर्वाधार विकास भइरहेका छन्।
सुदूरपश्चिमको समृद्धिको आधार
नेपालकै लामो कर्णाली नदी र चिसापानी पुलको मनोरम भूगोलसँगै निर्माण भइरहेको यस परियोजनालाई सुदूरपश्चिम प्रदेशको आर्थिक र पर्यटकीय विकासको ‘जग’ का रूपमा हेरिएको छ। केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउने र रोजगारीको नयाँ ढोका खुल्ने विश्वास स्थानीय उद्योगी व्यवसायीहरूको छ।
मूर्तिको पदस्थापना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले निर्माण गर्ने आयोजनाहरू निर्धारित समय, लागत र गुणस्तरमा नै पूरा गर्ने क्षमता प्रमाणित गर्दै आएको उल्लेख गर्नुभयो। “हामीले करिब १२ महिना पहिले यस जालपादेवी केबलकार आयोजनाको निर्माण सुरु गरेका थियौँ,” ढकालले भन्नुभयो, “धार्मिक आस्थाको केन्द्र मानिएको मन्दिरमा मूर्तिको पदस्थापना गरिएसँगै यो आयोजना पनि हामी निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौँ।”
अध्यक्ष ढकालले नेपालको बहुआयामिक आर्थिक रूपान्तरणका लागि पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्नु अनिवार्य रहेको बताउनुभयो। पर्यटन पूर्वाधारमा लगानी बढाउन सके मात्र पर्यटकको बसाइ लम्ब्याउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ थियो। देशका सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय पूर्वाधार निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
यस आयोजनालाई सुदूरपश्चिमकै लागि एक ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने स्थानीय व्यवसायीहरूले बताउनुभएको छ।
केबलकार तथा अन्य पूर्वाधारको विकाससँगै स्थानीय स्तरमा रोजगारी सृजना हुने, आर्थिक गतिविधि विस्तार हुने र यो क्षेत्रको महिमा बढ्ने भन्दै स्थानीय समुदायमा ठूलो उत्साह थपिएको छ।
केबलकारले तराईको अत्यधिक गर्मीबाट जोगिन चाहनेका लागि राजकाँडालाई एक उत्कृष्ट ‘हिल स्टेसन’ का रूपमा स्थापित गर्ने स्थानीयहरुको विश्वास छ।
भारतीय पर्यटकका लागि मुख्य आकर्षण
भारतीय सीमानाकाहरू कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहाबाट सहज सडक पहुँचमा रहेको यो आयोजनाले आन्तरिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याउनुका साथै अन्तरदेशीय पर्यटनका लागि समेत कोशढुङ्गा सावित हुने देखिएको छ।
भारतका उत्तराखण्ड र उत्तर प्रदेश जस्ता ठूला राज्यका दिल्ली, लखनऊ, बरेली र देहरादुन जस्ता सहरहरूबाट सडकमार्ग हुँदै केही घण्टामै यहाँ पुग्न सकिने र भारतीय सीमाबाट दुई घण्टाको ड्राइभमा सजिलै पुगिने भएकाले कर्णाली चिसापानी घुम्न आउने भारतीय पर्यटकका लागि यो केबलकार मुख्य आकर्षण बन्ने विश्वास लिइएको छ।










प्रतिक्रिया दिनुहोस्