समाचार

सर्पको बिगबिगी



काठमाडौँ, २१ असार । अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ ।

लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्यांकअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ । उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन् । यो तथ्यांक गत वर्षको भन्दा धेरै हो ।

दैनिक तीनदेखि सात जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन । मुसाको दुलो झाडीलगायतका ठाउँमा बस्न रुचाउने विषालु सर्प गर्मी बढेसँगै बाहिर निस्कने गर्दछन् भने रातको समयमा आहाराको खोजीमा निस्किएको सर्प मानिसको सामुन्ने हुँदा आक्रमण गर्ने विज्ञहरूको भनाइ छ । सर्पले मानिस खोज्दै नहिँड्ने तर, मानवीय गतिविधिका कारण सुरक्षा चुनौती महसुस गरी आफ्नो बचाउका लागि डस्ने गर्दछ ।

उपचार केन्द्रको तथ्याङ्कअनुसार यस वर्षको फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो हप्ता सकिनै लाग्दा ९१ जनालाई सर्पले डसेको छ । त्यसमध्ये विषालु कमन करेतले डसेका तीनजनालाई उपचारका लागि जनकपुर रिफर गरिएको छ ।

बाँकी सबैको केन्द्रमै उपचार भएको थियो । उपचारका लागि आउनेमध्ये पाँचदेखि सात प्रतिशत बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ ।