काठमाडौँ, २१ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उद्याेग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भेटवार्ता भएको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालका अनुसार भेटका क्रममा सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक विकास, लगानी प्रवर्द्धन तथा पूर्वाधार विकासका विषयमा छलफल भएको छ ।
विशेषगरी कैलालीको चिसापानीमा निर्माणाधीन जालपादेवी केवलकार परियोजनालाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको हो । यस्तै, बैतडी जिल्लाको सुर्नया गाउँपालिका–स्थित सतबाँझ–धर्मघर क्षेत्रमा सिमेन्ट उद्योग स्थापना गर्ने सम्भावना तथा त्यसका लागि आवश्यक सहकार्यबारे पनि छलफल भएको छ ।
उक्त उद्योग स्थापना भएमा प्रदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ । मुख्यमन्त्री शाहले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै विकासका ठूला परियोजनालाई शीघ्र कार्यान्वयनमा लैजान आवश्यक सहकार्य गरिने उल्लेख गरेका छन् ।
भेटवार्तामा प्रदेशको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।










प्रतिक्रिया दिनुहोस्