Banner News

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल



म्याग्दी, २२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताका छन् ।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्रको आइतबार निरीक्षणपछि मन्त्री पौडेलले देवभूमि सर्किट बनाउन पौराणिककालका तथ्यको पहिचानका लागि मन्त्रालयले अध्ययन थालेको जानकारी दिए ।

“धर्मग्रन्थका देवीदेवता, धर्मगुरु, प्रसिद्ध लामा र ऋषिमुनिहरूले तपस्या बसेको, यात्रा गरेको बाटो पहिचान गरेर त्यहाँ पर्यटक भित्र्याउने सरकारको योजना हो”, उनले भने, “देवभूमि सर्किटमा समेटिएका गन्तव्य पहिचान गरी सरकारले पूर्वाधार र प्रवर्द्धनमा लगानी गर्न बजेट विनियोजन गरेको छ ।”

दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, पुलाश्रम, बागलुङ कालिका, कालञ्जर पर्वत, देवघाटलगायत कालीगण्डकी करिडोरलाई देवभूमि सर्किटका रूपमा विकास गर्ने योजना रहेको मन्त्री पौडेलको भनाइ थियो । पर्यापर्यटन, प्राकृतिक, साहासिकसँगै आरोग्य पर्यटन विकासमा पनि सरकारले जोड दिएको उनले बताए ।