राजनीति

संसद्‌मा शाहीको प्रश्न- कर्णाली नेपालको हो कि होइन ?



काठमाडौँ, २२ असार । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा उद्धारमा सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै भीरमा अड्किएर डाँको लगाउँदा समेत यात्रुको उद्धार नभएको बताए।

उनले भने, ‘भीरमा अड्किएर उहाँले जीवनको भीख मागिराख्नुभएको थियो । उनीहरूको गुहारले नदीको किनार थर्कियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो । स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो । गाडी नदीमा डुब्यो र भीरमा अड्केको मान्छेको मृत्यु भयो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो, आशा सक्कियो तर उद्धार आएन । त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो ।’

उनले उद्धारको लागि हेलिकप्टर नपठाएर सरकारका मन्त्री कर्णालीको आकाशमा घुमिरहेको बताए । उनले थपे, ‘यता प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू भागबण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए । उद्धार टोलीसँग साधन थिएन । हेलिकप्टर आकाशमा घुम्दै गर्दा, एउटा हेलिकप्टर पठाउने क्षमता यो सरकारसँग भएन ।’

उनले कर्णाली नेपालमा हो कि होइन ? भन्दै प्रश्न सोधे।

उनले थपे, ‘आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा, कर्णालीमा नागरिक डुब्दै गर्दाखेरि उद्धार गर्न नहुने? के कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन्? यसको जवाफ आज दिनुपर्छ । यो संसद्मा रुलिङ गर्नुपर्छ । कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ कि छैन ? के कर्णालीका युवाहरू यो देशको भविष्य हुन् कि होइनन् ? कि हामी कर्णालीमा जन्मिनु नै हाम्रो अभिशाप हो ?’