समाचार

भाउजूको हत्या गर्ने देवर पक्राउ



काठमाडौँ, २३ असार । मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् ।

ग्रामथान गाउँपालिका वडा नम्बर ६ झोवाबनी बस्ने २१ वर्षीय सौचन खवासले धारिलो हतियार खुकुरी प्रहार गरी २० वर्षीया भाउजू सीमा राजवंशीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २२ गते राति साढे ८ बजेतिर सौचनले कपिल खवासकी श्रीमती सीमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । के कारणले आक्रमण भएको हो भन्नेबारे अहिलेसम्म प्रस्ट खुलेको छैन ।

सोही क्रममा बचाउ गर्न खोज्दा सोही स्थानमा बस्ने ४४ वर्षीय ठुलोबुबा नाता पर्ने शिवलाल खवास समेत घाइते भएका छन् । उनको दाहिने कुममा गहिरो चोट लागेको र उनलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।