एजेन्सी, २४ असार । स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले मंगलबार ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का स्टे«ट अफ होर्मुज क्षेत्रमा रहेका ६० भन्दा बढी साना डुङ्गा, क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा सैन्य कमाण्ड केन्द्रहरूलाई निशाना बनाइएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। आक्रमणका क्रममा विस्फोटका छर्राबाट केही सर्वसाधारण घाइते भएको जनाइएको छ ।
इरानका उपविदेशमन्त्रीले अमेरिकी कारबाहीलाई गत महिना अमेरिका र इरानबिच भएको समझदारी सम्झौताको उल्लङ्घन भएको बताएका छन् । उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न निर्णायक कदम चाल्ने चेतावनी दिएका छन् ।
आक्रमण भएपनि अमेरिकी अधिकारीहरूले भने अन्तिम सम्झौताका लागि इरानसँग कूटनीतिक वार्ता जारी रहने बताएका छन् । एक अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले अझै पनि सद्भावपूर्वक वार्तालाई अगाडि बढाउने नीति कायम राखेको छ ।










प्रतिक्रिया दिनुहोस्