राजनीति

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको काम सुरु



मुगु, २६ असार । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ ।

अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ । कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाको कुल लागत रु ५५ अर्ब ३३ करोडबराबर रहनेछ ।