समाचार

चितवनमा मोबाइल नेटवर्क विस्तार



काठमाडौँ, २७ असार । नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका अनुसार भरतपुर महानगरपालिका–२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर–पटिहानी सडकखण्ड, टिकौली–रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ ।

सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गका केही स्थानमा फोन नलाग्ने गुनासो आएपछि टिकौली क्षेत्रमा सेक्टर विस्तार गरिएको छ भने रामनगर सडक मोडमा अतिरिक्त उपकरण जडान गरेर सेवाको गुणस्तर सुधार गरिएको छ ।