Banner News

भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान



काठमाडौँ, २९ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आदिकवि भानुभक्त आचार्यको जयन्तीले तनहूँको चुँदीरम्घास्थित भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण र प्रवर्धन गर्न सबैलाई एकजुट भई लाग्न अभिप्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

सोमबार एक सन्देश जारी गर्दै उनले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपति यादवले भानुभक्त आचार्यले नेपाली साहित्यलाई नयाँ आयाम प्रदान गर्दै जनमानसमा भाषा, संस्कृति र नैतिक मूल्यहरूको गहिरो चेतना जगाएको उल्लेख गरेका छन् ।  

भानुभक्तको काव्य-साधना र सामाजिक दृष्टिकोणले नेपाली साहित्यलाई मात्र नभई राष्ट्रिय जीवनलाई पनि उज्यालो बनाएको उनको भनाइ छ। यस जन्मजयन्तीको अवसरले साहित्य, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्धनमा दृढ संकल्पसहित अघि बढ्न प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार ‘रामायण’, ‘घाँसी’ र ‘प्रश्नोत्तर मालिका’ जस्ता कृतिहरूले समाजमा श्रम, निष्ठा र उत्तरदायित्वको महत्त्वलाई उजागर गरेका छन् । साधारण व्यक्तिको कर्मठता र समर्पणले समाजमा अमर योगदान दिन सक्ने सन्देश भानुभक्तका कविताले दिएको उल्लेख गर्दै उनले ती रचनाहरूले नेपाली सांस्कृतिक गौरवलाई जीवन्त राख्दै भावी पुस्तालाई आफ्नो भाषा र साहित्यप्रति गर्व गर्न उत्प्रेरित गर्ने जनाए।