समाचार

माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु



काठमाडौँ, ३२ असार । रुपन्देहीको भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार ओमसतिया गाउँपालिका-२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भीम अस्पताल, भैरहवामा मृत्यु भएको हो । दुर्घटनामा सिद्धार्थनगर-८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे, सिद्धार्थनगर-८ की ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका-२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका-६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर-३ (दरखसवा) का २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका-७ की ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका-६ की ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल, भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल, मणिग्राम रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।