काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ४० लाख रुपियाँ खर्च गर्ने भएको छ ।
यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका देशीय निर्देशक कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौँलाई मानवीयतामा आधारित सहर निर्माण गर्ने क्रममा निजी क्षेत्रको सहभागिता बढेसँगै लक्ष्य नतिजा उन्मुख बन्दै गएको बताइन् । सामाजिक समितिका संयोजक केसीले, संस्थागत सामाजिक उत्तरदायित्वको यो कार्यक्रमले निजी क्षेत्रको उचाइ बढाएको बताए ।
आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले, पहिलो वर्षको प्रभाव मूल्याङ्कन गरेर सहयोगलाई निरन्तरता दिइने बताए। यस्तै आश्रमका अध्यक्ष अधिकारीले, जुन उद्देश्यका लागि सहयोग प्राप्त भएको हो । त्यही लक्ष्यमा मात्र खर्च गर्ने सुनिश्चितता प्रकट गरे ।
विपन्न, अशक्त, घरबारविहीन, शारीरिक रूपमा कमजोर व्यक्तिको स्वास्थ्य र शिक्षामा सहयोग गर्नु सम्झौताको उद्देश्य हो । कार्यक्रमअन्तर्गत मानव सेवा आश्रमको हेरचाहमा विद्यालय जाने बालबालिका लागि विद्यालयको शुल्क, पोशाक, सिकाइ सामग्री र शिक्षामा निर्बाध पहुँचका लागि आवश्यक अन्य आवश्यक सहयोग गरेर सिकाइ र नतिजा सुधारका लागि रकम खर्च हुनेछ ।
स्वास्थ्य कार्यक्रम अन्तर्गत उद्धार तथा पुनःस्थापनाका गरिने सबै प्रकारका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यको उपचार तथा औषधि प्रदान गर्नमा खर्च गरिनेछ । यसबाट दीर्घ रोग भएका, मानसिक स्वास्थ्य अवस्था कमजोर भएका, उमेरसँग सम्बन्धित रोगको उपचार गरेर असहाय, बेसहारा व्यक्तिको स्वास्थ्यमा पहुँच वृद्धि गरिने लक्ष्य राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्