काठमाडौँ, २ साउन । पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित तमोर होटलका कटेजमा आगलागी हुँदा नगद र जिन्सी सामग्री जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शुक्रबार साँझ ग्यास चुहावटका कारण आगलागी हुँदा दुई वटा कटेजसहित नगद र सामग्री जलेर नष्ट भएको छ ।
साँझ करिब साढे पाँच बजे होटलको भान्सामा मासु पकाउने क्रममा ग्यास चुहावट भई आगलागी भएको हो । आगो स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा साँझ ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण होटल सञ्चालक तुम्बेवा गाउँपालिका–३ निवासी २५ वर्षीय बादल भण्डारीको करिब ३२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । साथै, खर र बाँसले बनेका दुई वटा कटेज, दुई वटा आइफोन, चार वटा इटेल कम्पनीका मोबाइल, दुई वटा ग्यास सिलिन्डर, दुई वटा फ्रिज, सात वटा टेबल, २५ वटा प्लास्टिकका कुर्सी, खाद्यान्न, भाँडावर्तन तथा पेय पदार्थसमेत जलेर नष्ट भएका छन् ।










प्रतिक्रिया दिनुहोस्