काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएका नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन् ।
सामाजिक सञ्जालमा सभापति थापाले शोकसन्तप्त परिवारजन, आफन्त तथा उनीप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिनुभएका श्रद्धेय नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो।
अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो। सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ।
सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ। उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ । यस दुःखद घडीमा श्रद्धेय डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’










प्रतिक्रिया दिनुहोस्