काठमाडौँ, २ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुनसक्ने आशंका रहेको बताएका छन् ।
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सरकार र सबै राजनीतिक दलले गम्भीरता अपनाएर देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए । घिसिङले यस्तो अवस्था आउनुमा सरकारको सबैभन्दा ठूलो जिम्मेवारी रहेको दाबी गरे । दुई तिहाइको बहुमतसहित जनताबाट विश्वास प्राप्त सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागलाई सम्बोधन गर्न जिम्मेवार ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘आज जुन हिसाबले देशमा सरकार र राजनीतिक पार्टीहरूले अहिलेको परिस्थितिमा विभिन्न किसिमको अवस्था सिर्जना गरेका छन् । यसरी करिब तीन–चार महिना पुग्न लाग्यो । तर चार महिनाकै अवधिमा यो देशमा एक किसिमको द्वन्द्व सिर्जना हुने अवस्थामा पुग्न लागेको हो कि भन्ने शंका लागेको छ । यसमा सरकार अत्यन्त गम्भीर भएर लाग्नुपर्नेछ । सम्बन्धित सबै पार्टीहरू पनि यो देशलाई द्वन्द्वबाट बाहिर ल्याउन लाग्नुपर्छ । लामो समयको द्वन्द्वबाट नेपाल धेरै समय राजनीतिक द्वन्द्वमा फसिरह्यो । फेरि झन् ठूलो द्वन्द्वमा जाने अवस्था सिर्जना हुन लागेको हो कि भन्ने हामीले महसुस गरेका छौँ ।’
आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए ।
उनले विगत तीनचार महिनाकै अवधिमा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै त्यसले देशको वर्तमान परिस्थिति गम्भीर बनेको संकेत गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्