भक्तपुर, ३ साउन । ‘आजको सरसफाई, भोलीको स्वस्थ जीवन हो । जहाँ फोहोर हुन्छ, त्यहाँ फोहोरले घर बनाउँछ । जसको व्यवस्थापन गर्न खर्च गर्नु भनेको मानवीय जीवनको भविष्यको लगानी हो । जसमा कानुनत फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेको स्थानीय तह हुन् । तसर्थः स्थानीय तह तथा फोहोर व्यवस्थापन गर्ने निजी संस्थाहरुलाई गाली गर्नुअघि आफ्नो हातको फोहोर कहाँ पुगेको छ भनेर एक पटक सवैले सोचौं भन्ने सन्देशका साथ आज ‘फोहोरमैलाको वर्तमान अवस्था, चुनौती र अवसर’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रेस सोसाईटी र भक्तपुर नागरिक समाजले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा फोहार व्यवस्थापन गर्न स्थानीय तह, सम्बन्धित निकाय, संघसंस्था तथा नागरिकको भूमिका र सवैले गर्नुपर्ने कर्तव्यको बारेमा छलफल भएको थियो । जसमा स्थानीयवासीले फोहोर व्यवस्थापनमा स्थानीय तहले नीतिगत कडाई गर्नुपर्ने, फोहोर फाले रु पाँच हजारसम्म जरिवाना गर्नुपर्ने, खोलामा फोहोर तथा ढल मिसाउन रोक्नुपर्ने, नेपाल सरकार तथा स्थानीय तहले तोकेको मासिक शुल्क लिनुपर्ने जिम्मेवार संस्थाले गर्नुपर्ने गरेता पनि हुनुपर्ने जति सरसफाई नभएको, फोहोर सफा गरेरमात्र नभई मानसिकता नै सफा गर्नुपर्ने, खुल्ला फोहोर व्यवस्थापन गर्न कम्तिमा एक सय–एक सय मिटरमा डस्विन राख्नुपर्ने लगायतका माग, गुनासा तथा सुझावहरु दिइएको थियो ।
जवाफमा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्त रविन्द्र सापकोटाले फोहोरमैला व्यवस्थापनमा सम्बन्धित निकायको साथसाथै नागरिक अझ बढि सचेत हुनुपर्नेमा जोड दिनुभयो । ‘सूर्यविनायक नगरपालिकामा अत्याधिक रुपमा जनघनत्व बढेको छ, एकद्वार प्रणाली अनुसार टेण्डरको माध्यमबाट हामीले नेप्सेम्याक र नेपाल फुलवारीलाई फोहोर व्यवस्थापनको कानुनी रुपमा जिम्मेवारी दिएका छौं’ उहाँले भन्नुभयो, ‘हाल नगरपालिका क्षेत्रमा करिव ३५ हजार घरधुरी रहेका छन् तर फोहोर व्यवस्थापनको सदस्य चाँही करिव १६ हजार मात्र हुनुहुन्छ, बाँकीलाई समेट्नुपर्नेछ, त्यसको लागि स्वयम् घरधनीले जागरुकता देखाए आम भक्तपुरवासी नागरिक स्वच्छ र सफा वातावरणमा जीवनयापन गर्न पाउनेहुन्छ ।’
अस्तव्यस्त फोहोरलाई विभिन्न प्रकारका अभियानहरु सञ्चालन गरी सफाई तथा जनचेतनामूलक कार्यहरु भइरहेको उल्लेख गर्दै उहाँले आम नागरिकले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभयो । घरधनीले आफ्नो घर अगाडीको सडक आफै सफा गर्नुपर्ने औंल्याउँदै उहाँले भन्नुभयो, ‘फोहोरलाई स्रोतमा नै व्यवस्थापन गर्नुपर्छ । मेरो जग्गामा गर्नु हुँदैन, अरुको जग्गाबाट गर्नुपर्छ भन्ने मानसिकता त्याग्नुपर्छ । कतिपय घरधनीले आफ्नो घरमा भाडामा लगाउने तर फोहोरको शुल्क भने एक किचनको मात्र तिर्ने गर्नुभएको छ । त्यतिमात्र नभई जसले घरभाडामा लगाएर भाडामा बस्नेदेखी फोहोरको शुल्क लिनुहुन्छ, उहाँहरुले नै एक कचिनको मात्र तिर्दै ठूला ठूला आलोचना गर्नुहुन्छ तर आफु परिवर्तन हुन चाहनुहुन्न । शुल्कका गुनासो हामी माझ पनि आएका छन् तर नेप्से तथा फुलवारीले तोकेको भन्दा बढि लिएको छैन । वरु अझ कम लिएको छ । प्रत्येक दुई वर्षमा २० प्रतिशत बढाउने सहमति भएता पनि नेप्से तथा फुलवारीले २०७४ को सम्झौता अनुसारकै लिइरहेको छ ।’
कार्यक्रममा नेप्सेम्याक सेवा प्रा.लि.का निर्देशक बाबुराम चौलागाईले फोहोर व्यवस्थापन काठमाडौँ उपत्यकामा मात्र नभई विश्वमा नै चुनौती खडा भएको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकाबाट दैनिक करिव १५ सय टन फोहोर उत्पादन हुने जानकारी गराउँदै उहाँले उक्त फोहोरको डम्पिङ सार्य बञ्चरेडाँडा २० वर्षसम्म थाम्ने कल्पना गरिएता पनि हाल ५० प्रतिशतभन्दा बढी भरिसकेको जानकारी दिनुभयो । अबको ४–५वर्षपछि उक्त स्थानमा फोहोर लैजान सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले भक्तपुरबाट नै दैनिक करिव २०० टन फोहोर संकलन हुने बताउनुभयो । त्यसमा सवैभन्दा बढि सूर्यविनायकबाट ५५ टन, मध्यपुरबाट ५० टन, भक्तपुरबाट २५ टन र चाँगुनारायणबाट २५ टनभन्दा बढि फोहोर संकलन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बञ्चरेडाँडा लैजादा हामीले प्रति गाडी रु सात सय तिर्नुपर्छ । हामीले संकलन गरेर त्यहाँ पुर्र्याउँदा एक केजी फोहोरको मूल्य करिव ५५ रुपैंया पर्छ । त्यो पनि अबको ४–५ वर्षपछि लान पाउने अवस्था छैन । त्यसैले अबका दिनमा प्रत्येक स्थानीय तहले ल्याण्डफिल्ड तथा फोहोर वर्गिकरणको लागि जग्गा व्यवस्थापन गर्नुपर्छ । त्यो गरेमा हामी भक्तपुरलाई शुन्य फोहोर बनाउन सक्छौं । फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्न सकिन्छ । जसबाट विद्युत, ग्यास, मल तथा अन्य विभिन्न उपायहरु अपनाउन सकिन्छ । जसले गर्दा भक्तपुरको आर्थिक समृद्धिमात्र नभई रोजगारीको समेत ठूलो सम्भावना रहन्छ । त्यसको लागि सवै नागरिक सचेत हुन जरुरी छ । राज्य वा सम्बन्धित निकायले के यिो भन्दा पनि हामीले के गरिरहेका छौं ? भन्ने चेतनाको विकास गर्नुपर्छ । जसको लागि हामीले पालिकासँगको सहकार्यमा ३० वटाभन्दा बढि अभियानहरु सञ्चालन गरिरहेका छौं । सार्वजनिक स्थलका फोहोरहरु हामीले निशुल्क उठाउने गरेका छौं । तर सवैलाई सफा चाहिएको छ तर आफै जिम्मेवारीबाट भने चुक्ने गरेका छौं ।’
सूर्यविनायक नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिए नगरपालिकालाई शुन्य फोहोर बनाउन सकिने स्पष्ट पार्दै उहाँले हाल फोहोर व्यवस्थापन गर्न जग्गा अभावका कारण ठूलो चुनौति रहेको बताउनुभयो । मजदुरको समेत अभाव हुँदै गएको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकामा नै सवैभन्दा न्युन मूल्यमा नागरिकलाई सेवा प्रवाह गरिरहेको बताउनुभयो । १२ महिनामा एक महिनाको चाडपर्व थप लिई सोही पर्वको समयमा आफ्नो घरसमेत नगई फोहोर व्यवस्थापन गर्ने कर्मचारीलाई भत्ता दिनको लागि बैधानिक बाटो अपनाएको स्पष्ट पार्दै उहाँले बेलायत लगायतका विशसित मुलकुहरुमा समेत एक महिनाको थप लिई सेवा प्रवाह गर्ने गरेको जानकारी गराउनुभयो ।
सूर्यविनायक नगरपालिकाका वातावरण शाखाका प्रतिनिधि माधव घिमिरेले नीतिगत तथा व्यवहारिक रुपमा परिवर्तन जरुरी रहेको औंल्याउँदै खोलामा ढल मिसाउने, फोहोर फाल्ने, जलाउने लगायतका वातावरण प्रदुषण हुने प्रकारका कार्यहरु नगर्न आम नागरिकलाई अपिल गर्नुभयो । पूर्वाधार निर्माणको क्रममा समेत वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदै उहाँले शहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापन गर्न आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्न सवै स्थानीय तहलाई पत्राचार गरिसकेको जानकारी गराउनुभयो । सोही पत्राचारकै आधारमा सूर्यविनायक नगरपालिकामा सो प्रस्ताव कार्यपालिकामा प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले चुनौतीलाई समाधान गर्न नगरपालिका सेवा प्रदायक निजी संस्था तथा आम नागरिकसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नेपाल प्रेस सोसाईटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा भक्तपुर नागरिक समाजका महासचिव रामकुमार खड्काले शुभकामना मन्तव्य राख्नुभयो भने केशव लुइटेलले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका कार्यपालिका सदस्य सुमन परियार, नेप्सेम्याकका निर्देशक गोविन्द आचार्य, नेपाल फुलवारीका व्यवस्थापक केदार घिमिरे लगायतका सामाजिक संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्