काठमाडौँ, ४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन्।
इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए । राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तनको ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गरे ।
उनले भने, ‘विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायतका विविधतालाई पनि विर्सन हुँदैन । वर्तमान समयको माग एवम् नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई पनि तिव्ररुपमा अघि बढाउनु आवश्यक छ । यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ । हाम्रो विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्दछ ।’ राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिए मात्र आर्थिक समृद्घि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्