काठमाडौँ, ८ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको भन्दै त्यसका लागि बुझाई फरक फरक रहेको बताएका छन् ।
शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा हामी आफैँले पनि कहीँ न कहीँ त्रुटि गरेको स्वीकार गरे । अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिले टाउको उठाएको पनि बताए । उनले यो अवस्था कसरी आयो भनेर समुचित यथोचित र वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न नसकिने बताए ।
उनले भने, ‘अब सङ्कटको समाधान कसरी गर्ने भनेर छलफल गर्नु उचित हुन्छ । भदौको घटनामा नेपालको सुरक्षा निकायको निरीहता आफ्नै आँखा अगाडि देख्नुपर्यो । यो सुगौली सन्धि पछिको धेरै निरीहता हो । हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौँ । भयानक परिस्थिति सिर्जना हुने, आँखै अगाडी नेपालका धरोहर जलाइने, पार्टी कार्यालय र इतिहास जलाइने परिघटना के कारणले भयो ? साम्राज्यवादले हस्तक्षेप गर्यो भनेर मात्र पुग्दैन ।’










प्रतिक्रिया दिनुहोस्